नियम १९
उत्खनन् कार्य गर्दा पालन गर्नु पर्ने शर्तहरु
उत्खनन् कार्यको अनुमतिपत्र पाउने व्यक्तिले उत्खनन् कार्य गर्दा पालन गर्नु पर्ने शर्तहरु देहाय बमोजिम हुनेछन् ः-
(क) उत्खनन् कार्य गर्दा खनिज पदार्थको अधिकतम सदुपयोग र खनिज सम्पदाको संरक्षण हुने गरी गर्ने ।
(ख) उत्खनन् कार्य गर्दा वातावरणमा सकेसम्म न्यूनतम प्रतिकूल प्रभाव पर्ने उपाय अपनाई वातावरण संरक्षणमा समुचित ध्यान दिई कार्य गर्ने ।
(ग) राष्ट्रिय तथा सार्वजनिक हित र सुरक्षाको निमित्त छुट्याईएका स्थानहरुमा र प्राचिन स्मारक, शहर, चिहान, मसानघाट, सार्वजनिक बाटो, घाट, बा“ध, पैनी, पाईप लाईन, किल्ला, गढी, छाउनी, मन्दिर, मस्जिद, गिर्जाघर, घर, कारखाना ईत्यादिबाट कम्तीमा पचास मिटर भित्र उत्खनन् कार्य नगर्ने र त्यस्तो क्षेत्रमा घर, कारखाना वा गोदाम नबनाउने ।
(घ) आफ्नो उत्खनन् क्षेत्रको नजिकै उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त अन्य व्यक्तिलाई आफूले बनाएको ट्राम लाईन, रोपवे लाईन, बाटो र पानी घाट समेत मनासिब शर्तमा उपयोग गर्न दिने ।
(ङ) खनिज पदार्थ भण्डार गर्ने तथा जम्मा गर्ने स्थलमा खनिज कार्यको परिमाणको नाप गर्ने यथोचित यन्त्रहरु राख्नु पर्ने ।
(च) उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त भू–सतहको सीमाना बाहिर हुने गरी उत्खनन् कार्य नगर्ने र दुई वा दुई भन्दा बढी अनुमतिपत्रमा उल्लिखित क्षेत्रको सीमाना जोडिएको रहेछ भने अनुमतिपत्र प्राप्त व्यक्तिले सो सीमानाबाट पच्चीस मिटर छोडी खानी उत्खनन् कार्य गर्ने ।
(छ) उत्खनन् कार्य गर्दा खोलेको टोपा, टनेल खाल्टा ईत्यादिमा कुनै दुर्घटना हुन नपाउने गरी सुरक्षाको व्यवस्था गर्ने ।
(ज) उत्खनन् कार्य गर्दा कुनै दुर्घटना परेमा, कुनै व्यक्तिको मृत्यु भएमा वा आफूले पाएको अनुमतिपत्रमा उल्लिखित क्षेत्रभित्र कसैको धन सम्पत्तिको हानी नोक्सानी हुन गएमा वा हुन सक्ने सम्भावना देखिएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र
विभागलाई तुरुन्त सूचना दिने ।
(झ) खनिज क्षेत्रमा उत्खनन् कार्य सञ्चालन गर्दा सोको रेखदेख, नियन्त्रण आदिको लागि अनुमतिपत्र प्राप्त व्यक्ति स्वयं वा निजको प्रतिनिधि रहनु पर्ने ।
(ञ) खानी क्षेत्रमा कार्यालय खडा गरी सो कार्यालयमा आफूले पाएको अनुमतिपत्र स्पष्ट देखिने गरी राख्न ।
(ट) आफ्नै खर्चमा खनिज क्षेत्रको सीमाना कायम गर्ने ।
(ठ) आफ्नो काबू बाहिरको परिस्थितिले गर्दा खनिज कार्यमा बाधा परी एक महिना भन्दा बढी उत्खनन् कार्य बन्द वा रोकावट हुन गएमा विभागमा सूचना गर्ने ।
(ड) खनिज कार्यको अवधि समाप्त भएमा वा उत्खनन् कार्य गर्ने अनुमतिपत्र रद्द गरी उत्खनन् कार्य बन्द गर्नु परेमा छ महिना भित्रमा बन्द गरी आफ्नो सम्पूर्ण सामान सो क्षेत्रबाट हटाई खाल्टो, चनक, टोपा र भासिएको जग्गा पूरैमा बार वा पर्खाल लगाउनु पर्ने भएमा बार वा पर्खाल लगाई त्यस क्षेत्रमा उपयुक्त पुनस्र्थापना कार्य गर्ने ।